मानव चेतनाको विस्तार

मानव चेतनाको विस्तार

  • Sobizpress SuAdmin
  • आइतवार, भाद्र २८ २०७७


  • मानव चेतनाको विस्तार

    Dr. Rojan Ghimire

    Kathmandu

    images

    9818391514

    जति जति मानविय चेतनाको बारेमा बुझ्न खोज्छु, ईश्वरीय शक्ति प्रति उती नतमस्तक हुँदै जान्छु । जसरी जन्मने बित्तिकै एउटा माछा पौडिन थाल्छ त्यसैगरी एउटा बालक जन्मने बित्तिकै आफ्नो आमाको दुध चुस्न थाल्छ । आफ्नो जीवन र अस्तित्व जोगाइराख्न पछिसम्म पनि मानिस प्रतिक्रियात्मक र रक्षात्मक क्रियाकलापहरु गर्ने गर्छ । यो मानिसको नैसर्गिक चेतना हो जसको स्रोत खोज्दै जाँदा ईश्वरीय शक्ति प्रति आत्मसमर्पण नगरि रहन सकिँदैन ।

    हुर्किदैँ बढ्दै जादा कर्मका अनुभवहरु मनमा भरिँदै जान्छन् र आफ्ना अनुभुति र परिवार, समाज, विद्यालय र स्वाध्यायबाट प्राप्त शिक्षाले जीवन जिउने उचित शैलीको बारेमा बुझिन थाल्छ जसलाई सामान्यतया हामी बुद्धिमानी भनी बुझ्छौं । यो नैसर्गिक चेतना र बुद्धिको विकासले मानिस कुनै पनि परिस्थितिप्रति स्पष्ट द्रष्टा हुन पुग्छ र उसले गरेको कार्य बुद्धिमत्तापूर्ण कार्य ठहरिन्छ । मानिसको चेतनाको यतिसम्मको विकास स्वतः स्फुर्त सामाजिक अन्तत्र्रिmया र पठन–पाठनको कारणले आजको युगमा सहज हुन पुगेको छ ।

    तर जीवन यापनको क्रममा विस्तारै बढ्दो भावनात्मक अन्तर्सम्बन्ध र गहिरो बन्दै जाने बानीका छापहरुले धेरै व्यक्तिहरु विचलित भएको भेंटिन्छन् । विचार, भावनाहरुको विश्लेषण र तदनुरुप तिनलाई व्यवस्थापन गर्न नसक्दा मानिसको चेतनाको विकास बुद्धिमत्ता भन्दा बढी हुन कठीन भएको छ । जस्तोसुकै बाहिरी परिस्थितिमा पनि भावनाको आवेगबाट पन्छिएर जागरुक रहिरहन सक्ने स्थितिमा चेतनाको अर्को चरणको विकास संभव हुन्छ ।

    यसकोलागि हरेक व्यक्तिले दिनहुँ केही समय निकालेर आफैभित्र नियाल्न थाल्नुपर्छ । अनि अनावश्यक विचार र भावनाहरुलाई पन्छाउँदै सकारात्मक र उपयोगी विचारहरुलाई मात्र संगाल्नु पर्छ र तिनलाई दृढ बनाउनुपर्छ । त्यसकोलागि परम्परादेखि अथवा संस्थागत हिसाबले योग अथवा सकारात्मक अभ्यासहरु सिकाइने स्रोतहरुको मद्दत लिनु फाइदाजनक हुन्छ । यी मध्ये श्री वेदाद्री महर्षिद्वारा प्रतिपादित सरलीकृत कुण्डलिनी योग (Simplified Kundalini Yog) मा कुण्डलिनी ध्यानको अभ्यासले मानसिक शान्ति र स्थिरता प्राप्त गर्दै आत्मनिरीक्षणको व्यवहारिक चरणबद्ध अभ्यास गरेर जागरुकताको अवस्थामा रहँदा चेतनाको थप विस्तारकोलागि बाटो प्रशस्त गर्न सकिन्छ ।

    जागरुकताको अभ्यासमा रहँदा आफ्नो अगाडि उपलब्ध प्रामाणिक तथ्यले डो¥याउने भन्दा पनि बढी अस्तित्व र वास्तविकताको आभास हुन थाल्छ । निहित ज्ञानको हिसाबले तार्किक अनुमान गर्नु भन्दा बढी, समय र ठाउँको सीमा भन्दा परको आभास जब हुनथाल्छ, त्यो चेतनाको विकासको अर्को स्तर हो । जब मानिस धेरैजसो समय जागरुक र शान्त रहन सक्छ, विस्तारै आफू, समाज, प्रकृति र ब्रह्माण्डका रहस्यहरु खुल्दै जान्छन् । सृष्टिको प्रकार्यको क्रमदेखि प्रकृति र पराको सम्पूर्ण बोध प्राप्त हुँदाको अवस्था भनेको चेतनाका पूर्ण विकसित अवस्था हो ।

    यही अवस्थामा जागृत व्यक्तिलाई तत्वज्ञानी अथवा बुद्ध पुरुष भनिन्छ । मानव जीवनको उद्देश्य पनि यही जागृत अवस्था प्राप्त गर्ने हुनुपर्दछ जसमा सृष्टिका सम्पूर्ण प्रश्नहरु चेतनाको विस्तारसँगै तिरोहित हुन्छन् र मानिसको हरेक कार्य प्रकृतिको लयसँग मेल खाइ पूर्ण सन्तुष्टीकासाथ बाँच्न सकिन्छ । हरेकको उद्देश्य शान्ति र सन्तुष्टि हुँदा–हुँदै पनि सही बाटोको पहिचान र मार्गदर्शन हुन सकिरहेको हुँदैन । तथापि, आजको समयमा हाम्रै वरिपरि यो उद्देश्य भेट्टाउन सहयोग गर्ने व्यक्ति र संस्थाहरु छन् जसको मद्दतले अवश्य पनि शान्त, सन्तुष्ट र आनन्दपूर्ण जीवनको अनुभुति आत्मसात गर्न सकिन्छ ।

    आइतवार, भाद्र २८ २०७७०४:०३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal